राष्ट्रिय
सडक गुणस्तर कायम गर्न आग्रह गर्दा सब–इन्जिनियरमाथि निर्घात कुटपिट, ६ जना पक्राउ
भोजपुर । भोजपुर–मानेभञ्ज्याञ–बैकुण्ठे –बांसिखोरा बालांखा–रानिटार सडक अन्तरगत ३ किलोमिटर सडक निर्माण आयोजनाको स्थलगत अनुगमनका क्रममा गुणस्तर कायम गर्न आग्रह गर्दा पूर्वाधार विकास कार्यालय भोजपुरका सव–इन्जिनियर आनन्दकुमार शाहमाथि स्थानीय कामदारले निर्घात कुटपिट गरेको छन् । सडक निमार्णको नियमित अनुगमनका क्रममा शाहले उक्त सडक खण्डको निर्माण कार्यसम्पादनलाई प्राविधिक मापदण्डअनुसार सुधार गर्न निर्देशन दिएपछि विवाद उत्पन्न भएको र त्यस लगत्तै उहाँमाथि सामूहिक रूपमा आक्रमण भएको कार्यालय प्रमुख राजनराज रेड्डिले जानकारी दिनुभयो । उहाँका अनुसार, ‘कार्यालयले खटाएको क्षेत्रमा कर्मचारी अनुगमन गर्न जाँदा स्थानीय कामदारबाट कर्मचारी कुटिएका छन् । कुटपिटबाट शाहको टाउकोमा पाँच वटा टाँका लगाइएको छ, शरीरका विभिन्न भागमा चोटपटक तथा नीलडाम भएको छ । उहाँको जिल्ला अस्पताल भोजपुरमा प्राथमिक उपचार पश्चात् थप उपचार लागि मोरङ सहकारी अस्पताल विराटनगरमा उपचार हुदैँछ ।’
घटनामा संलग्न रहेको आरोपमा हालसम्म ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख (डिएसपी) राजु लामाले जानकारी दिनुभयो । घटनामा संलग्न स्थानीय कामदार सुजन भनिने प्रितम राई , ज्ञान बहादुर राई, इन्द्र बहादुर राई, दुर्गा प्रसाद राई, प्रदिप राई र निरज बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र घटनाको वास्तविकतापछि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रमुख लामाले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय भोजपुरका शाखा अधिकृत विष्णु लिम्बुका अनुसार कार्यस्थलमा खटिएका कर्मचारीमाथि कुटपिट गर्नु गैर कानुनी भएको उल्लेख गर्दै घटना सम्बन्धी तत्काल छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो । सोहि आधारमा घटनामा संलग्न स्थानीय कामदारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरोपितलाई आवश्यक कानुनी कार्वाहिका हुनुका साथै कार्यक्षेत्रमा कर्मचारीहरूलाई काम गर्ने वातावरण सृजना, मनोबल विकासका लागि जिल्ला प्रशासन कार्यालयले थप आवश्यक कार्य गर्ने अधिकृत लिम्बुले जानकारी दिनुभयो ।
यता, कार्यक्षेत्रमा कर्मचारी कुटपिटपछि पूर्वाधार विकास कार्यालय भोजपुरका कर्मचारीले आफ्नो सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । कामको गुणस्तरीय नियन्त्रण गर्न आग्रह गर्दा कामदारबाटै कर्मचारी कुटपिट हुनु निकै दुखद भएको र यसले कार्यक्षेत्रमा कर्मचारीलाई काम गर्न पठाउन पनि गाह्रो हुने कार्यालय प्रमुख रेड्डीले उल्लेख गर्नुभयो । घटनालाई लिएर कार्यालयका अन्य प्राविधिक कर्मचारीहरूले दोषीलाई कानुन अनुसार हदै सम्मको कार्वाहि र आफूहरूलाई कार्यक्षेत्रमा सुरक्षा नभएसम्म नियमित काममा जान नसक्ने भनी विज्ञप्ति मार्फत जानकारी दिएका छन् । 
