राष्ट्रिय
बिदाको दिन पनि रोकिएन सरकारी सेवा : आमचोकमा नागरिकता बाढ्दै प्रशासन
भोजपुर, वैशाख २६ गते । जिल्ला प्रशासन कार्यालय भोजपुरले शनिबार र आइतबार हुने सार्वजनिक बिदाको सदुपयोग गर्दै जिल्ला सदरमुकाम भन्दा टाढा तथा दुर्गम आमचोक गाउँपालिकामा नागरिकता शिविर सञ्चालन गरेको छ । नागरिकहरूको सेवालाई विशेष प्राथमिकतामा राख्दै आएको जिल्ला प्रशासन कार्यालयले बिदाको समयमा पनि सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो । उहाँका भन्नुभयो, “ग्रामीण क्षेत्रका स्थानीयहरूलाई नागरिकता लिनकै लागि दुई दिन सम्म हिँड्नुपर्ने बाध्यता छ । विशेष गरी टाढा तथा दुर्गम क्षेत्रका ज्येष्ठ नागरिक, वृद्ध वृद्धा, अपाङ्ग, महिला लगायत पीडित वर्गहरूले ७०⁄८० वर्षसम्म नागरिकता नलिएको पाइन्छ। यसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय नै गाउँमा नै आएर नागरिकता वितरण गरेको हो । यससँगै उहाँहरूले सामाजिक सुरक्षा भत्ता, राष्ट्रिय परिचय पत्र, मतदाता परिचय पत्र लगायत सरकारले प्रदान गर्ने सेवा सुविधा उपभोग गर्न पाउनुहुनेछ।
शिविर आमचोक गाउँपालिकाको केन्द्र वालांखामा यही वैशाख २६ र २७ गते शनिबार र आइतबार सञ्चालन हुनेछ ।
