भोजपुर/स्थानीय
बोयामा २५ जनाको निःशुल्क आँखा शल्यक्रिया
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१४, बोयामा आयोजित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर भव्य रूपमा सम्पन्न भएको छ । दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले सञ्चालित सो शिविरबाट २५ जनाको आँखाको सफल शल्यक्रिया गरिएको छ ।
मेची आँखा अस्पतालकी जनसम्पर्क अधिकृत कविता कार्की कडरियाको नेतृत्वमा खटिएको १३ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले सो शिविरमा सेवा प्रदान गरेको थियो । डा. रजनी केशरी नेतृत्वको उक्त विज्ञ टोलीले जटिल समस्या भएका बिरामीहरूको आँखाको शल्यक्रिया गरेको हो ।
स्वर्गीय देवधरा खतिवडाको स्मृतिमा आयोजित यस शिविरमा ४ सय जनाले आँखा परीक्षण गराएका छन् । परीक्षण गरिएकामध्ये २० जनामा मोतियाविन्दु र ५ जनामा आँखामा मासु पलाएको (प्टेरिजियम) समस्या देखिएको जनस्वास्थ्य निरीक्षक दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए । शल्यक्रियाबाहेकका अन्य सेवाग्राहीलाई निःशुल्क औषधि तथा चश्मा समेत वितरण गरिएको छ ।
षडानन्द नगरपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघ, काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालित यस शिविरबाट षडानन्दका विभिन्न वडासहित छिमेकी भोजपुर नगरपालिका र अरुण गाउ“पालिकाका स्थानीयवासीले प्रत्यक्ष लाभ लिएका छन् ।
शिविरमा ४६ जनाको शल्यक्रिया गर्नुपर्ने देखिए पनि २१ जनाले भने सेवा लिन अस्वीकार गरेका छन् । स्थानीय डम्बर चौहानका अनुसार, ‘शल्यक्रिया गर्दा आँखा झन् बिग्रिन्छ कि’ भन्ने भ्रम वा डरका कारण धेरै बिरामीहरूले शल्यक्रिया गराउन मानेनन् । यसले दुर्गम भेगमा अझै पनि स्वास्थ्य चेतनाको स्तर उकास्न थप पहल आवश्यक रहेको देखाएको छ ।
दुर्गम बस्तीमै विशेषज्ञ चिकित्सक र मेची आँखा अस्पतालको प्राविधिक टिमसहितको सेवा पाउँदा स्थानीयवासी निकै उत्साहित छन् । स्थानीय चेतबहादुर श्रेष्ठले यस्ता स्वास्थ्य शिविरहरू नियमित रूपमा सञ्चालन हुनुपर्ने माग गरेका छन् ।
षडानन्द–१४ का वडाध्यक्ष झम्कबहादुर रोकाले भौगोलिक विकटताका कारण ठूला अस्पतालसम्म जान नसक्ने नागरिकका लागि यो शिविर वरदान सावित भएको बताए । ‘ग्रामीण भेगका नागरिकलाई घरआँगनमै सहज र स्तरीय स्वास्थ्य सेवा पुर्याउन यो कार्यक्रम निकै प्रभावकारी बनेको छ,’ वडाध्यक्ष रोकाले भने । स्वर्गीय आमाको स्मृतिमा यस शिविरको संयोजन कमलहरि खतिवडाले गरेका थिए भने शिविरको उद्घाटन षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले गरेका थिए ।
