खेलकुद
भोजपुर मेयरकप महिला फुटबल : सङ्खुवासभा–११ फाइनल प्रवेश
भोजपुर, बैशाख २२ गते । भोजपुर सदरमुकाम स्थित कोदार फुटबल रङ्गशालामा जारी आठौँ संस्करणको भोजपुर मेयर कप महिला फुटबल प्रतियोगिता अन्तर्गत आज भएको सेमी फाइनल खेलमा सङ्खुवासभा–११ विजयी भई फाइनल प्रवेश गरेको छ । फेयर फुटबल क्लब धरान भर्सेस सङ्खुवासभा–११ विचको खेलको निर्धारित समयमा १–१ गोल भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
पेनाल्टीमा फेयर फुटबल क्लब धरान र सङ्खुवासभा–११ ले २–४ गोल गर्दै सङ्खुवासभा–११ विजयी भएको हो । सङ्खुवासभा–११ का लागि झरना नगरकोटी, अस्मीता गुरुङ, मनीषा थापा मगर र अनिता राना मगरले गोल गरेका थिए । गोल किपर झरना नगर कोटी प्लेयर अफ द म्याच हुनुभएको छ ।
त्यस्तै आज नै दोस्रो सेमिफाइनलको खेल लेटाङ फुटबल क्लब मोरङ भर्सेस गेरबाबा फुटबल क्लब झापा बिच प्रतिस्पर्धा जारी रहेको छ । यो खेलमा विजयी हुने टिमले फाइनलमा सङ्खुवासभा-११ सँग भोली प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा विजयी हुने टिमले नगद रु १ लाख ६ हजार उप विजयी हुनेले नगद रु ५५ हजार रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने व्यक्तिगत विद्या तर्फका पुरस्कारको पनि व्यवस्था गरिएको आयोजक जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।
