शिक्षा

सुशासन र समृद्धिको पर्खाइमा महोत्तरी


महोत्तरी, बैशाख २१ गते । तराई प्रदेशमा धार्मीक, सास्कृतीक, भौगोलिक, आर्थिक तथा व्यापारीक एव प्रशासनिक केन्द्रिको रुपमा परिचित महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर बाहिरबाट हेर्दा जती सुन्दर छ भित्रबाट उतिनै पिडित र दुःखीद छ । दिनहु म बिहान ५ः५० बजे जलेश्वर बजारको सडकमा मर्निङ वाकका लागि निस्कँदा देखिएको दृश्यले मेरो मनमा एउटा गम्भीर प्रश्न उब्जाउँछ—के हामी वास्तवमै राज्यभित्र बसिरहेका छौं ? वा राज्य केवल कागजमा सीमित भइसकेको छ ? जिल्ला सदरमुकाम भनेको केवल प्रशासनिक केन्द्र होइन; त्यो राज्यको अनुहार हो । 
तर, महोत्तरीको जलेश्वर सदरमुकामको अवस्था हेर्दा लाग्छ, यो अनुहार होइन, उपेक्षाको प्रतीक बनेको छ।
सार्वजनिक सम्पत्तिको दोहन र अव्यवस्था
फुटपाथ, जसलाई पैदल यात्रुका लागि सुरक्षित स्थान मानिन्छ, यहाँ पूर्ण रूपमा कब्जा गरिएको छ। खुट्टे खाट राखेर मासु र माछा बिक्री भइरहेको छ। त्यहाँ प्रयोग भएको फोहोर पानी सिधै सडकमा बगाइएको छ,न कुनै निकास, न कुनै नियन्त्रण। सडक केवल सवारीका लागि होइन, सार्वजनिक जीवनको मेरुदण्ड हो। तर यहाँ सडक आफैं फोहोर र अव्यवस्थाको बोझले थिचिएको छ। सडकका सहायक मार्गहरू अझ भयावह छन्। कतै भैँसी बाँधिएका छन्, कतै गोबर र पिसाबको थुप्रो छ। कतै गुइँठाबाट बनाइएका दाउराहरू सडकमै राखिएका छन्। निर्माण सामग्री—बाँस, फलाम, बालुवा,सार्वजनिक सडकमा जथाभावी फालिएको छ। प्लास्टिकका झोला र फोहोर यत्रतत्र छरिएका छन्।
होटल, मिठाई पसल र मासु पसलबाट निस्किएको दूषित पानी सिधै सडकमा पठाइएको छ। यस्तो अवस्थामा जनस्वास्थ्य कस्तो होला, अनुमान गर्न गाह्रो छैन। झिँगा र दुर्गन्धले वातावरण ढाकिएको छ।
यति मात्र होइन, सडक किनारमा सुकेका र जोखिमयुक्त रुखहरू उभिएका छन् । कुनै दिन कसैमाथि खस्ने प्रतीक्षामा। सवारी साधनहरू तीव्र गतिमा कुदिरहेका छन्, तर न ट्राफिक अनुशासन देखिन्छ, न सुरक्षा व्यवस्थापन।
यो कसको जिम्मेवारी हो?
कानुनी रूपमा हेर्दा, सार्वजनिक सरसफाई, ढल व्यवस्थापन, सडक अतिक्रमण नियन्त्रण, पशु व्यवस्थापन,यी सबै जिम्मेवारी स्थानीय तहको हो । तर, जब नगरपालिका मुखदर्शक बन्छ, प्रशासन मौन बस्छ, र प्रहरी केवल “स्थिति जस्तो छ, त्यस्तै चलोस” भन्ने मानसिकतामा सीमित हुन्छ, तब यस्तो अवस्था सिर्जना हुन्छ।
यो समस्या केवल निकायहरूको होइन, हाम्रो सामूहिक बानीको पनि हो। हामी सडकलाई निजी सम्पत्ति ठान्छौं, फुटपाथलाई पसल बनाउँछौं, र फोहोरलाई सार्वजनिक ठाउँमा फाल्न कुनै हिचकिचाहट राख्दैनौं। तर राज्यको भूमिका यही हो। व्यवस्था कायम गर्ने, नियम लागू गर्ने, र सार्वजनिक हितको रक्षा गर्ने।
समाधानका लागि अब के गर्ने?
अब प्रश्न यो होइन कि समस्या छ कि छैन। प्रश्न यो हो, के हामी यसलाई यत्तिकै छोड्ने हो? यदि आज पनि हामी मौन बस्यौं भने भोलि यो अवस्था अझ जटिल हुनेछ। जनस्वास्थ्य संकट, दुर्घटना, महामारी, र सामाजिक अव्यवस्था—यी सबैको जोखिम बढ्दै जानेछ। समाधान असम्भव छैन, तर त्यसका लागि केही आधारभूत कुराहरू आवश्यक छन । 
स्पष्ट नेतृत्व र पहल :  नगरपालिकाले तत्काल बजार क्षेत्रको पुनर्संरचना गरी अतिक्रमण हटाउनुपर्छ । 
संयुक्त अनुगमन र कार्यान्वयन : प्रशासन, प्रहरी र स्थानीय तहले मिलेर बेथितिविरुद्ध संयुक्त अभियान चलाउनुपर्छ । 
कानुनको कडाइका साथ प्रयोग : सार्वजनिक स्थलमा फोहोर फाल्ने र अतिक्रमण गर्नेलाई कडा जरिवानाको दायरामा ल्याउनुपर्छ । 
नागरिक सचेतना र सहभागिता : नागरिकहरूले पनि आफ्नो कर्तव्य बुझेर सहर सफा राख्न योगदान पु¥याउनुपर्छ ।
निष्कर्ष
सुशासन आफैबाट सुरुवात गर्नुपर्छ । हामिलाई राष्ट्रले केके दियो भन्दै गर्दा हामिले राष्ट्रलाई केके दियौँ भन्ने पनि मनन् गरौँ । यहाँ, सदरमुकाम सुधार केवल सरसफाइ अभियान होइन; यो राज्यको विश्वसनीयता पुनस्र्थापना गर्ने प्रक्रिया हो। महोत्तरीको जलेश्वर सदरमुकाम आज जुन अवस्थामा छ, त्यो हामी सबैका लागि चेतावनी हो। यदि अहिले पनि हामीले हस्तक्षेप गरेनौं भने, भोलि यो केवल “अव्यवस्थित शहर” होइन, “बस्न नसकिने ठाउँ” बन्न सक्छ। अन्त्यमा, अब निर्णय हाम्रो हो । हामी यसलाई यत्तिकै स्वीकार गर्ने कि सुधारको सुरुवात गर्ने ?


लेखक : रामप्रसाद लुइटेल महोत्तरीमा जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत हुनुहुन्छ । नेपाल सरकारको उप–सचिव पदमा कार्यरत उहाँ स्थानीय प्रशासन, शान्ति–सुरक्षा, विपद् व्यवस्थापन र नागरिक सेवा प्रवाह एंव सुशासनमा प्रतिवद्ध हुनुहुन्छ । उहाँ निजामती सेवामा रहेर पनि सामाजिक अभियन्ता र लेखककाे रुपमा समाजका विकृति, अव्यवस्था, र फितलो सरकारी कार्यशैलीविरुद्ध सशक्त रूपमा कलम चलाउने प्रखर लेखक एवं सामाजिक टिप्पणीकार हुनुहुन्छ।

प्रतिकृया दिनुहोस