मनोरञ्जन
विद्यालय शैक्षिक कोषका लागि देउसी भैलो
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका–७, सिक्रेटारमा रहेको सगरमाथा माध्यमीक विद्यालयले विद्यालयको आर्थिक, शैक्षिक, भौतीक तथा बृहत्तर विकासका लागि शैक्षिक कोष खडा गर्न देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । सामान्य रुपमा गाउँघरमा रमाइलोका लागि खेलिने देउसी भैलोलाई मनोरञ्जन सहित विद्यालयको बृहत्तर विकासका लागि सहयोग पु¥याउने उद्देश्यले शनिवार वाट देउसी सुरु गरिएको हो ।
देउसी भैलोबाट सङ्कलन हुने रकम विद्यालयको भवन तथा कक्षाकोठा मर्मत गर्न, गरिब तथा विपन्न एवं जेहेन्दार विद्यार्थीलाई अध्ययन अध्यापनका लागि शैक्षिक सामग्री छात्रवृत्ति प्रदान गर्न साथै सामुदायीक विद्यालयप्रति समुदायले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न समेत देउसी आयोजना गरेको वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले बताउनुभयो । उहाँका भन्नुभयो, “देउसी मार्फत मनोरञ्जन सँगै विद्यालयप्रति समुदायको सकारात्मक भावना विकास, विद्यालयको आर्थिक, भौतीक, शैक्षिक सँगै बृहत्तर हितका लागि तत्काल खर्च गर्ने र केही रकम विद्यालय शैक्षिक सुधार कोषमा बचत गर्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय राजनैतीक दलका प्रतिनिधि, बुद्धिजीवी लगायतको उपस्थितिमा भव्य देउसी भैलो सञ्चालन गरिएको हो ।”
देउसी सुरु गरेको पहिलो दिन शनिबार नगद रु ४२ हजार संकलन भएको छ भने क्रमशः सिक्रेटार, जरायोटार, याकु पश्चात् कात्तिक १५ गते विद्यालयको प्राङ्गणमा भव्य रुपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थितिमा सास्कृतीक कार्यक्रम गरि समापन गर्ने योजना रहेको विद्यालयका प्रधानध्यापक रामरिझन मण्डलले जानकारी दिनुभयो ।
सगरमाथा माध्यमीक विद्यालय गत वर्षको एसइईमा अरुण गाउँपालिकाकै उत्कृष्ट विद्यालय समेत भएको थियो ।
