खेलकुद
भोजपुर मेयर कप महिला फुटबल : झापालाई हराउँदै सङ्खुवासभा–११ विजयी
भोजपुर, बैशाख २३ गते । भोजपुर सदरमुकाम स्थित कोदार फुटबल रङ्गशालामा सञ्चालित आठौँ संस्करणको भोजपुर मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि सङ्खुवासभा–११ ले जितेको छ । आज भएको फाइनल खेलमा सङ्खुवासभा–११ ले गेरबाबा झापालाई सडेन डेथमा ५–४ गोल गर्दै सखुवासभा–११ विजयी भएको हो । खेलको प्लेयर अफ द म्याच अस्मिता गुरुङ हुनुभयो ।
प्रतियोगिता अन्तरगत उत्कृष्ट गोलरक्षक गेरबाबाकी सवनम राई, उत्कृष्ट कोच सङ्खुवासभाका दिपक चौहान, सर्वोत्कृष्ट खेलाडी गेरबाबाकी पेमा दुक्पा हुनुभयो । 
विजयी हुने टिम सङ्खुवासभा–११ लाई नगद रु १ लाख ६ हजार, उप विजयी हुने गेरबाबा झापालाई नगद रु ५५ हजार रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरेको आयोजक जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।
विजयी सबैलाई कार्यक्रमका प्रमुख अतिथि तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले लगायत अन्य अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।
