खेलकुद
आठौँ भोजपुर मेयरकप महिला फुटबलमा धरानको सुरुवाती जित (फोटो फिचर...)
भोजपुर, बैशाख २१ गते । आजदेखी भोजपुर सदरमुकाम स्थित कोदार फुटबल रंगशालामा सञ्चालीत आठौँ सस्करणको भोजपुर मेयर कप महिला फुटबल प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा फेयर फुटबल क्लब धरान विजयी भएको छ । भोजपुर नगरपालिका–१० भर्सेस फेयर फुटबल क्लब धरान विचको खेलमा शुन्यका विरुद्ध २ गोल गर्दै धरान विजयी भएको हो । 
धरानका लागि प्रजिता राई र आशिका कार्कीले एक एक गोल गरेर जित दिलाउनुभएको थियो । प्रतियोगिता अन्तरगत आजको खेलमा प्लेयर अफ द म्याच आशिका कार्की हुनुभएको छ । 
खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले प्रतियोगिता खेल क्षेत्रको विकास, स्थानीय स्तरमा खेलाडी उत्पादन, खेल क्षेत्रबाट पर्यटन प्रवद्र्धन र आर्थिक उर्पाजन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोजपुर नगरपालिकाले नियमित रुपमा भोजपुर मेयर गोल्ड कप, ब्याडमिन्टन कप, महिला, पुरुष भलिबल प्रतियोगिता लगायत अन्य थुप्रै प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन गर्दै आएको छ । यसले जिल्लाको पहिचान सँगै खेल क्षेत्रको विकास, खेलाडी उत्पादन, खेल पर्यटन र आर्थिक विकासमा समेत टेवा पुग्नेछ ।’ 
भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र जिल्ला फुटबल सङ्घ भोजपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा भोजपुर नगरपालिका–१०, रिमाचोङ, लेटाङ फुटबल क्लब, गेरबाबा फुटबल क्लब, सङ्खुवासभा–११, फेयर फुटबल क्लब धरान सहित ६ टिमको सहभागिता रहेको आयोजक जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी हुने टिमले नगद रु १ लाख ६ हजार उप विजयी हुनेले नगद रु ५५ हजार रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने व्यक्तिगत विद्या तर्फका पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बैशाख २२ गते मंगलबार(भोली) रिमाचोङ फुटबल क्लब टेम्केमैयुङ भर्सेस लेटाङ फुटबल क्लब विच प्रतिस्पर्धा हुनेछ । 
