राजनीति
पार्टी विशेष महाधिवेशनप्रति नेता कोइरालाको असहमति
काठमाडौँ । नेपाली काँग्रेसको आसन्न विशेष महाधिवेशनलाई लिएर पार्टी भोजपुरका युवा नेता तथा महाधिवेशन प्रतिनिधि गिरिजा प्रसाद कोइरालाले असहमति जनाउँदै विरोध गरेका छन् । उनले पार्टीको नीति, सिद्धान्त र योजना विना नै कसैले बोलेकै भरमा हल्ला फिँजाउनु गलत भएको टिप्पणी गर्दै तत्काल विशेष अधिवेशन नहुने विज्ञप्ति मार्फत जानकारी दिए । उनले भने, आगामी पौष २७ र २८ गते पार्टीका दुई महामन्त्रीले आव्हान गरेको नेपाली काँग्रेसको विशेष महाधिवेशन गलत प्रक्रियाबाट आव्हान गरिएको छ ।
पार्टीको केन्द्रीय कार्य समितिको निर्णय विपरीत विशेष महाधिवेशन गर्न सकिँदैन । दाबी गरिएको ५४ प्रतिशत हस्ताक्षर विशेष महाधिवेशनका लागि नभई साधारण महाधिवेशनका लागि मात्र हो । यसप्रति केन्द्रीय कार्य समितिले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।
त्यस्तै उनले पार्टीलाई गुट र फुट भन्दा माथि निकालेर लोकतान्त्रिक अभ्यास र संस्थागत निर्णयमार्फत अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
