स्वास्थ्य

ट्याक्टर दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु


भोजपुर ।  भोजपुरको उत्तरी षडानन्द नगरपालिका–४ दुबे स्थित चाम्लादाङबाट दिङ्ला आउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर आउने क्रममा अनियन्त्रित भएर सडकबाट ३० मिटर तल झरेको थियो ।  ट्याक्टरमा सवार ६ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने घाइते ४ जनाको उपचारका लागि नगर अस्पताल दिङ्ला लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ट्याक्टर चालक षडानन्द नगरपालिका–४ केराबारीका आइत बहादुर तामाङ र अरुण गाउँपालिका ४ चरम्बी निवासी नविन तामाङको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो । 
त्यस्तै घाइते षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बर बहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङको नगर अस्पताल दिङलामा उपचार भइरहेको छ । 
शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टम गर्न लाने तयारी हुदैँछ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस