मनोरञ्जन

नेवारी समुदायमा चर्चित कात्तिक नाच आजदेखि सुरु

ललितपुर । ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन सय ८५वर्षदेखि हरेक वर्ष कात्तिक महिनामा प्रदर्शन हुँदै आएको ऐतिहासिक उक्त सञ्चालनका लागि यस वर्षको सबै तयारी पूरा भएको जनाइएको छ ।

आज साँझदेखि १९ गतेसम्म साँझ ७ बजेसम्म नियमित रूपमा नाच सञ्चालन हुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए ।‘यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ, त्यसैले १० दिनसम्म सञ्चालन हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसार नाच देखाइन्छ,’ उनले भने, ‘यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक वर्ष कात्तिक महिनामा सञ्चालन हुँदै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ नाच चलाएको जनविश्वास छ ।’

 

 

 

नेपाल संवत् ७६१ अर्थात् १६९७ सालमा ‘कात्तिक नाच’ को प्रारम्भ भएको इतिहास छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर देखाउनु हो ।

 

 

अध्यक्ष चित्रकारका अनुसार मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको इतिहास रहेको उनले जानकारी दिए ।

अध्यक्ष चित्रकारले भने, ‘यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको बताइन्छ । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्‍याएका पनि इतिहास छ । हाल यसको विशेषता बुझेका कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको छ ।’

प्रतिकृया दिनुहोस