भोजपुर खबर

९० प्रतिशत भुकम्पपिडित तेश्रो किस्ताको पर्खाइमा 


भोजपुर । विस २०७२ साल वैशाख १२ गते गएको महाविनासकारी भूकम्पले भोजपुर जिल्लाभर आशिंक र पूर्ण गरी कुल ५ हजार ७ सय २६ वटा घरमा क्षति र्पुयाएको छ । भुकम्प गएको ३ बर्ष ८ महिना पुगिसक्दापनी भूकम्पपीडितको किस्ता अनुदान निकासा हुन सकेको छैन् । पछिल्लो समय जिल्लाबाट दोस्रो किस्ता वापतको रकम २ हजार  ३ सय घरपरीवारले मात्र लिएका छन् । बाकि भूकम्पपीडितका घरको नक्सापासको सिफारिस सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटा पठाइए पनि स्वीकृत गर्ने अख्तियारवाला कर्मचारी नभएकाले किस्ता निकासामा ढिलाइ भएको छ । कार्यालयमा सिफारिस स्वीकृत गर्ने अख्तियारवाला कर्मचारीमा कार्यालयका प्रमुख राजेन्द्र खतिवडा लगायत भवन पुनः निर्माण कामको रेखदेख गर्ने अन्य केही इन्जिनियरहरूको पनि सरुवा भएपछि तत्कालका लागि पुनर्निमार्णसम्बन्धी काम रेखदेख गर्ने कर्मचारी नआइसकेको कार्यालयले जनाएको छ । 
गत भदौमा दोश्रो र तेस्रो किस्ताका लागि १ सय ८६ वटा घरपरीवारको नामावली जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरमा आएको छ, वाकी करिब ९० प्रतिशत भुकम्पपिडितहरुको नामावली आउन केहि समय लाग्ने इकाई प्रमुख राजनराज रेड्डिले बताएका छन् । इकाईमा भूकम्पपीडितको नाम नमिलेको, किस्ता नआएको, नाम नअटाइएको भन्दै गुनासो आउने गरेका छन् । कार्यालयले दोस्रो तथा तेस्रो किस्ताका लागि वडाको सिफारिस, भौतिक पूर्वाधार समेत खोज्ने भएकाले भूकम्पपीडीतहरूले अली झन्झटिलो भएको गुनासो गर्ने गरेको रेड्डिको भनाई छ ।  ‘किस्ता भनेको समयमा आउदैँन, झन्झटिलो प्रक्रिया पूरा गर्दा दोहोरो खर्च लाग्छ, गाउँपालिकाले विभिन्न प्रमाण सँगै खर्च पनि लिने गरेकोले भुकम्पको किस्ता रकम लिन ग्राहो भएको छ,’ जिल्लाको षडानन्द नगरपालिका ९ किमालुङका भूकम्पपीडित दावा शेर्पाले भने । 
ट्याम्केमैयुम गाउँपालिका अध्यक्ष ध्रुव राईले भने “सरकारले दिनेभनेको पुनर्निर्माण बापतको किस्ता अनुदान भुकम्पपिडितले पाएका छैन्न, सरोकारवाला निकायले चासो नदिएकाले ऋणपान गरेर बल्लतल्ल घर बनाउने भूकम्पपीडित ऋणमा डुबी रहेका छन् ।  
नक्सापास गर्नका लागी वैकल्पिक ऊर्जा, आसपासमा पुराना चर्किएका घर नभएको, अनिवार्य सुलभ शौचालय भएको भनी सम्बन्धित स्थानको वडाध्यक्षले मुचुल्कामार्फत् प्रमाणित गरेपछि मात्रै  सिफारिस नगर तथा गाउँपालिकामार्फत् जिल्ला आयोजना कार्यान्वयन इकाईमा पठाएपछि त्यहाँबाट पुनः धनकुटा पठाइने गरिएको इकाई कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस