अन्तराष्ट्रिय

नेयमर र उनको टिम रुसमा

मैत्रीपूर्ण खेलमा अस्ट्रियालाई ३–० ले पराजित गरेलगत्तै सोमबार रुसमा

सोची — नेयमर र उनको टिम ब्राजिल विश्वकपको तयारीमा भएको मैत्रीपूर्ण खेलमा अस्ट्रियालाई ३–० ले पराजित गरेलगत्तै सोमबार रुस पुगेको छ ।
आयोजक रुस र साउदी अरेबियाको प्रतिस्पर्धासँगै विश्वकप बिहीबार मस्कोमा सुरु हुँदै छ । पाँचपल्टको विश्वकप विजेता ब्राजिल सोचीस्थित ब्ल्याक सी रिसोर्टमा पुगेको हो । यो टिम यहीं बस्नेछ ।
नेयमर तीन महिनापछि फर्कंदै पहिलो रोजाइमा खेले र यसले ब्राजिललाई निकै उत्साहित बनाएको छ । उनले भियनामा अस्ट्रियाविरुद्ध हात पारेको जितमा गोल गरेका थिए । उक्त खेलमा ग्याब्रिएल जेसस र फिलिप कोटिन्होले पनि बललाई पोस्टको दिशा दिएका थिए । मार्चमा खुट्टाको शल्यक्रिया गराएका पेरिस सेन्ट जर्मेनका सुपरस्टार नेयमरले उक्त खेलसँगै फिट भएर फर्किएको निश्चित गरे ।
नेयमरले ब्राजिलका लागि ५५ औं गोल गरेका हुन् । उनले आफ्नो देशको सर्वा्धिक गोलको सूचीमा आफूलाई रोमारियोको स्तरमा र्पुयाए । उनीभन्दा अगाडि पेले र रोनाल्डोमात्र छन् ।
२६ वर्षीय नेयमरले दोस्रो हाफमा मैदानमा ओर्लंदै लिभरपुलमा गत साता क्रोएसियाविरुद्ध २–० को जित हासिल गरेको खेलमा गोल गरे र त्यो नै फेब्रुअरीमा खुट्टाको हाड भाँचिएयता उनले खेलेको पहिलो खेल थियो । बार्सिलोनाका यी पूर्वखेलाडीले आइतबार उत्कृष्ट गोल गरेका थिए ।

ब्राजिलका प्रशिक्षक टिटेले टिमप्रति ‘साह्रै गर्व’ भएको उल्लेख गरे पनि अझ उत्कृष्ट हुनुपर्ने बताएका छन् । ‘नेयमरको सीमितता मलाई थाह छैन,’ उनले भने, ‘उनको प्राविधिक र सिर्जनात्मक क्षमता आकर्षक छ । हामीले उनलाई मैदानमा अगाडि पाउँदा निकै खतरनाक पाएका छौं ।’

फिफा वरीयतामा डिफेन्डिङ च्याम्पियन जर्मनीभन्दा पछाडि रहेको ब्राजिल विश्वकपको समूह ‘ई’ मा स्वीट्जरल्यान्ड, कोस्टारिका र सर्वियासँग परेको छ । उसले स्वीट्जरल्यान्डविरुद्ध आइतबार खेल्दै विश्वकप यात्रा थाल्नेछ ।
कान्तिपुर
 

प्रतिकृया दिनुहोस